नेपाली खेलकुदका बर्ष खेलाडी तथा एसियन गेम्सका रजत पदक र प्याराग्लाइडिङ बिश्वकप कास्य पदक बिजेता युकेश गुरुङलाई नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले अन्य ७ खेलाडीसँगै उडानमा प्रतिबन्ध लगाएको छ ।
गत मंसिर ८ गते एक जनाको ज्यान जाने गरि पोखरामा भएको प्याराग्लाइडिङ्ग दुर्घट्नापछि क्यानले पोखराका आठ प्यारा पाइलटलाई अनिश्चितकालीन रोक लगाएको हो । युकेशसहित अर्का नाम चलेका प्यारापाइलट एलिस थापा, अञ्जन कुँवर, बिशाल थापा, रिखि पोडे, संग्राम थापा, सवास थापा र साहिल खान रहेका छन् ।
पोखराको स्थानीय अनलाईनहरुमा आएको समाचार अनुसार क्यानले नेपाल एयरस्पोर्ट्स एशोसिएसनसँग उडानका दौरान अवाञ्छित कृयाकलाप गर्ने प्यारापाइलटको नाम मागेको थियो । तर नाम नपठाएपछि आफ्नै हिसाबले ८ खेलाडीलाई पत्राचार गर्दै उनीहरुलाई उडानमा प्रतिबन्ध लगाएको हो । सबैजनालाई स्पष्टिकरणको लागि तीन दिनको समय तोकेको छ ।
प्रतिबन्धित पाइलटहरु मध्ये युकेश ठूलै नाममा पर्दछन् । नेपालले २० बर्षयता एसियाली खेलकुदमा रजत पदक जित्दा युकेश नेपाली टिमको महत्वपूर्ण हिस्सा रहेका थिए । उनी सम्मिलित टोलीले २०१८ मा इन्डोनेसियामा भएको एसियन गेम्स क्रस कन्ट्री टिम प्याराग्लाइडिङ्गमा रजत पदक जितेको थियो ।
त्यस्तै स्याङजामा भएको प्याराग्लाइडिङ्ग एकुरेसी वल्र्ड कपमा पनि उनले नेपालका लागि कास्य पदक जितेका थिए । युकेशको त्यही उपलब्धिका कारण उनलाई नेपाल खेलकुद पत्रकार मञ्चले बर्ष खेलाडी पुरस्कार दिएको थियो । यो नेपालको सबैभन्दा ठूलो र प्रतिष्ठित खेलकुद पुरस्कार हो ।
नेपाली टोलीमा बिजय गौतम, बिमल अधिकारी, सशिल गुरुङ र बिमल थापा पनि रहेका थिए । उक्त स्पर्धामा जापानले स्वर्ण पदक जितेको थियो । युकेशसँगै अन्य पाइलटहरुलौ आफूलाई गलत नियतले निशाना बनाइएको बताउदै आएका छन् ।
“देशको लागि खेलेको मान्छे हुँ, अहिले बदनाम गर्न देशै लागेजस्तो महशुस गरेको छु,” उनलाई उदृत गर्दै स्थानीय एक अनलाइनले लेखेको छ । “हामीले केही गलत गरेका छैनौं, ५ सय रुपैयाँमा फुल टिपाउँदै हिड्ने पाइलट हामी होइनौं । खुट्टा तान्ने प्रवृत्ति हावी भएजस्तो लागेको छ ।”