चिर प्रतिद्वन्दी युभेन्टसलाई पराजित गर्दै इन्टर मिलानले अर्को शहरी प्रतिद्वन्दी एसि मिलानसँग इटालियन सिरी आ मा शिर्ष स्थानमा अंक बराबरी गरेको छ ।
निकोलो बरेला एक गोल गर्नुका साथै अर्कोमा असिस्ट गरेपछि क्रिष्चियानो रोनाल्डोको युभेन्टस सिजनकै निर्णायक साबित हुन सक्ने खेलमा २–० ले हार्न पुग्यो । शिर्ष स्थानमा समान ४० अंक रहदा एसि मिलान गोल अन्तरको आधारमा अग्रतामा रहेको छ । यद्दपि इन्टरले एक खेल बढी खेलेको छ ।
आइतबार नै फियोरेन्टिनालाई आधा दर्जन गोल हानेको नापोली र एएस रोमाको समान ३४ अंक रहेको छ । यो सिजनको दोश्रो हार व्यहोरेको युभेन्टस ३३ अंक सहित पाचौं स्थानमा रहेको छ । लगातार ९ पटकको डिफेन्डिङ्ग च्याम्पियन युभेन्टसको ६ बराबरी पनि रहेको छ ।
सान सिरोमा आफ्नो आकर्षक खेल पस्कन असफल रहेको युभेन्टस सोमबार एसि मिलानले काग्लियारीलाई हारउने हो भने १० अंकले पछि पर्न सक्छ । उसको लागि एक मात्र सकारात्मक कुरा के हो भने युभेन्टसले एक खेल कम खेलेको छ ।
युभेन्टसलाई २०१३ देखि २०१४ सम्म लगातार तीन उपाधि जिताका हालका इन्टर प्रशिक्षक एन्टोनियो कोन्टेले आफूले सम्हालेको पुर्व क्लबबिरुद्ध पछिल्लो दुई सिजन जित निकाल्न सकेका थिएनन् । कोन्टे २०१९ मा इन्टर मिलान गएका थिए ।
पछिल्लो चार बर्षमा हराउन नसकेको प्रतिद्वन्दीबिरुद्धको लोभ लाग्दो जितले इन्टरलाई अब २०१० पछि पहिलो पटक इटालियन लिग जित्ने आशा पनि बढेको छ । इन्टरले २०१५ यता भएका ७ खेलमा युभेन्टसलाई हराउन सकेको थिएन । उसले पाँचमा हार व्यहोरेको थियो भने दुई खेलमा बराबरी गरेको थियो ।
युभेन्टसका लागि २०११–१२ देखि २०१४–१५ सम्मको सिजनमा चार उपाधि जितेका आर्टुरो भिडालले आफ्नो पुर्व क्लबबिरुद्ध बरेलाको पासमा हेडरमार्फत १२ मिनेटमै अग्रता दिलाएका थिए । दोश्रो हाफ शुरु भएको सात मिनेटपछि नै बरेलाले डिफेन्डर आलेसान्द्रो बास्टोनीको बल कलेक्ट गर्दै उत्कृष्ट दौड लगाउदै दर्शनीय गोल गरेका थिए ।
युभेन्टसका पोर्चुगिज सुपरस्टार क्रिष्चियानो रोनाल्डोले शुरुवातमै गरेको गोल अफ साइड दिन बाहेक टुरिन क्लबका लागि अन्य केही उल्लेखनीय मुभहरु थिएन । आफ्नो घरेलु मैदानमा इन्टरले रोनाल्डोलाई कुनै पनि मौका दिएको थिएन । लउटारो मार्टिनेज र रोमेलु लुकाकुले गोल गर्ने मौका नगुमाएको भए इन्टरको जित अझै फराकिलो हुने थियो ।