व्यवसायिक फुटबलरहरुको जमात अष्ट्रेलिया छोडर भारत आइपुग्दा इण्डियन सुपर लिग (आईएसएल) को भाग्य परिवर्तन भएको छ भने महामारीको असर कायम रहदा ए–लिग (अष्ट्रेलियाको प्रथम श्रेणीको फुटबल) खराब समयबाट गुज्रन थालेको छ ।
गत बर्ष आईएसएलमा मात्रै दुई अष्ट्रेलियनले खेलेका थिए गत साता कडा स्वास्थ्य प्रोटोकोल अपनाउदै भारतको पर्यटकीय शहर गोवामा शुरु भएको ११ टिमको नयाँ सिजनमा त्यो संख्या १० पुगिसकेको छ ।
ए–लिगबाट आईएसएल खेल्न आउने अष्ट्रेलियन बाहेक अन्य देशका खेलाडीहरु पनि रहेका छन् । गत सिजन सिड्नी एफसीका लागि खेल्दै लिगको दोश्रो सर्वाधिक गोलकर्ता बनेका इङ्गलिस स्ट्राइकर एडम ले फोन्ड्रे, जर्मन डिफेण्डर म्याटी स्टेनम्यान र वेल्सका आरोन हलोवे केही उदाहरण हुन् ।
यो परिवर्तनको संवाहक पैसा हो । ब्रोडकास्टिङ्ग रेभिन्युमा प्रभाव परेपछि ए–लिगमा अबको सिजन सहभागी खेलाडीहरुको तलबमा ३० प्रतिशतको गिरावट आउने भएको छ । यसले गर्दा यसअघि सकृय करिअरको अन्त्यमा रहेका बिश्व फुटबलका स्टारहरुलाई मात्र आकर्षित गर्ने गरेको आईएसएलले अष्ट्रेलियन फुटबलमा सहभागी खेलाडीहरुको लागि राम्रो प्रस्ताव ल्याएको छ ।
आईएसएलले आकर्षित धेरै मध्येका एक हुन् २६ बर्षिय अष्ट्रेलियन डिफेण्डर डिलन फक्स जसले सेप्टेम्बरमा सेन्ट्रल कोस्ट मराइनर्स छोड्दै गुवाहाटीको नर्थइस्ट युनाइटेडसँग सम्झौता गरे । “हाल ए–लिगमा अनिश्चितता छाउनु मेरो लागि बिदेश लाग्दै आफूलाई एसियामा परिक्षण गर्नु राम्रो अवसर बन्यो,” फक्स भन्छन् ।
“यसै पनि ए–लिग दुई बर्ष देखि एकै स्तरमा रहदै आएको छ र अन्य केटाहरुले पनि यो महसुस गर्न थालिरहेका छन् ।”
कुनै समय ढल्कदो उमेरका स्टारहरुलाई मात्र आकर्षित गर्ने गरेको आईएसएलले फक्स जस्तो युवा खेलाडीलाई पनि भित्र्याउन थालेको छ ।
ए–लिग खेलाडीहरुको रोजाई
शुरु भएको ६ बर्षमै आईएसएलले लामो समयदेखि स्थापित प्रथम श्रेणीको फुटबल आई–लिगलाई भारतको प्रिमियर फुटबल प्रतियोगिताको रुपमा लगभग बिस्थापित गरिसकेको छ । आईएसएल टोली एफसी गोवा अर्को बर्ष एसियन च्याम्पियन्स लिग खेल्ने पहिलो भारतीय क्लब बन्न गइरहेको छ ।
२००५ देखि शुरु भएको ए–लिगसँग यसै सिजन कोरोना भाइरस लकडाउनका कारण अफिसियल ब्रोडकास्टर फक्स स्पोर्ट्सले सम्झौता रद्द गरेपछि रेभिन्युमा गिरावट आएको थियो भने त्यसलगत्तै प्रतियोगिताले निकै कम मुल्यमा नयाँ सम्झौतामा हस्ताक्षर गर्न बाध्य भयो ।
यसले गर्दा आईएसएलमा राम्रै संख्याका अष्ट्रेलियनहरुको उपस्थिति हुन थालेको छ भने स्पेनिस, ब्राजिलियन र ब्रिटिस फुटबलरहरुलाई पनि आकर्षित गरेको छ । न्युकासल युनाइटेड डिफेण्डर स्टिभन टेलर इङ्गलिस प्रिमियर लिगबाट आईएसएल खेल्न आएका छन् ।
अष्ट्रेलियन खेलाडीहरुको लागि आईएसएल भने सिमित मात्र हुनेछ किन भने सबै खेलाडीहरुलाई टिम होटलमा बायो बबलमा राखिएको छ । “कम से कम यी परिचित अनुहारहरुलाई मैदान भेट्दाको अनुभव निकै राम्रो हुनेछ,” फक्स भन्छन् ।
गत सिजनको आई–लिग च्याम्पियन मोहन बगान पनि आईएसएलमा समाहित भइसकेको छ ।
आईएसएलले एक खेलाडी एसियन फुटबल महासंघ (एएफसी) का सदस्य राष्ट्रहरुबाट छान्नै पर्ने प्रावधानका कारण पनि भारतको अष्ट्रेलियन खेलाडीहरु प्रति रुचि बढेको हो । “एएफसी राष्ट्रहरुलाई हेर्ने हो भने भारतीय क्लबहरुको रोजाइमा ए–लिग खेलाडीहरु परेको देखिन्छ,” आईएसएलमा बिज्ञता प्राप्त गरेको कम्पनी इन्भेन्टिभ स्पोर्ट्सका एजेन्ट बल्जित सिँह रिहाल भन्छन् ।
“इरान र उज्बेकिस्तानजस्ता देशहरुबाट पनि खेलाडीहरु आउन इच्छुक छन् तर उनीहरुको सम्पूर्ण जानकारी र एकुरेट तथ्यांक प्राप्त गर्न केही गाह्रो छ । ए–लिग पारदर्शी हुन्छ र सबै रेकर्ड आरामले पाउन सकिन्छ । भारतीय क्लबहरुलाई अष्ट्रेलियाबाट के पाइन्छ राम्रो ज्ञान छ । यो चिर परिचित मार्केट नै हो,” रिहाल थप्छन् ।
अनिश्चित ए–लिग
पछिल्लो घट्नाक्रमका बिकासमा केही अन्य कारणहरु पनि छन् । पुर्व लिभरपुल र इङ्गल्याण्ड फर्वार्ड रोबि फाउलरले जुनमा ब्रिस्बेन रोअरको प्रमुख प्रशिक्षकको पद त्यागे । चार महिनापछि इस्ट बेँगालमा प्रशिक्षक नियुक्त भएपछि उनले निकै कम समयमै तीन ए–लिग खेलाडीहरु भित्र्याए ।
भारतमा सबैभन्दा बढी समय बिताएका र बेँगलुर एफसीमा चार सिजन पुरा गरिसकेका अष्ट्रेलियन डिफेन्डर एरिक पार्टलुलाई पनि टन्नै फोनहरु आउने गरेको छ । “भारतमा स्थायीत्व देखिएको छ भने अष्ट्रेलिया केही हदसम्म अनिश्चित छ,” पार्टलुले भने ।
“पक्कै पनि ए–लिग भन्दा बढी पैसा पाउने भएर नै हो । यदि खेलाडीहरुलाई अब उनीहरुले पाइरहेको तलबको ७० प्रतिशत मात्र प्राप्त गर्ने भनेर भन्ने हो भने सबैले एक पटक सोच्ने नै छन् । अहिले बिगतमा नआएका खेलाडीहरु पनि यहाँ आउन थालेका छन्,” उनले भने ।
बैँगलुरु एफसीका लागि चार सिजन बिताइसकेका पार्टलु एक आईएसएल खेलमा हेडिङ्ग गर्ने क्रममा ।
एसिया अन्य देशमा तलबलाई लिएर उठ्ने गरेको समस्या भारतमा नहुने भन्दै पार्टलुले आफ्नो अष्ट्रेलियन साथीहरुलाई भारतले बिदेशी खेलाडीहरुसँगै निकै राम्रो व्यवहार गर्ने गरेको बताउने गरेका छन् । उनी अष्ट्रेलियन खेलाडीहरुले पैसाको सहि मुल्य पनि दिने बताउछन् ।
“हामी राम्ररी नै घुलमिल हुन्छौं र आफै संलग्न बन्दै योगदान गर्ने गरेका छौं । शायद यो क्रिकेटले बनाएको कनेक्सन पनि हो र अंग्रेजी बोल्ने हुँदा कम्युनिकेसन ग्याप पनि हुने गर्दैन । हामी धेरै मिहिनेत गर्छौ, फिट रहन्छौं, कम्प्लेन गर्दैनौं र एक ढिक्का भएर खेल्छौं,” गर्वसाथ पार्टलु सुनाउछन् ।
अष्ट्रेलियन खेलाडीहरुको आगमनले नै धेरै टिमहरुको प्रदर्शनमा फरक पर्न सक्छ । यदि बहुसंख्यक ए–लिग खेलाडीहरुले उत्कृष्ट देखाउने हो भने भारतीय फुटबल अझै झाँगिएको खण्डमा अरुहरुले पनि अवसर पाउन सक्छन् ।
फक्सको सम्झौता जम्मा एक सिजनको लागि मात्र हो तर यो उनको करिअरको लागि टर्निङ्ग पोइन्ट पनि हुन सक्छ । “मैले मेरो करिअरमा ठूले कदम चालेको कारण अब के हुन्छ म हेर्नेछ । म यो अवसरको सबैभन्दा बढी फाइदा उठाउन चाहन्छु,” फक्सले भने ।
पुर्व जर्मनी तथा आर्सनल मिडफिल्डर मेसुट ओजिलले अब आफू कहिल्यै पनि जर्मनीको लागि नखेल्ने बताएका छन् ।
बुधबार आफ्नो बाल्यकालको टर्किस क्लब फेनरबाचेसँग साढे तीन बर्षको सम्झौता गर्ने क्रममा ओजिलले जर्मनी प्रति आफ्नो फ्रस्टेसन पोख्ने क्रममा यस्तो भनेका हुन् । “म जर्मन टोलीलाई सफलताको लागि शुभकामना दिन चाहन्छु तर अब देखि म कहिल्यै पनि उनीहरुको लागि खेल्दिन,” फरर टर्किस भाषामा कुरा गर्ने क्रममा ३२ बर्षिय ओजिलले भने ।
ओजिललाई फेनरबाचेले बुधबार नै क्लबको जर्सीमा सार्वजकि गरेको थियो । जर्मनीले २०१४ को बिश्वकप जित्दाका स्टार खेलाडी ओजिलले इङ्गलिस प्रिमियर लिग क्लब आर्सनलसँग तीन पटक एफए कप जितेका थिए ।
तर २०१८ को बिश्वकप अघि जर्मनीमा बिवादास्पद टर्किस राष्ट्रपति रिसेप तइप एर्दोगनसँग तस्विर लिएपछि उनी आलोचनाको शिकार हुन पुगेका थिए । ओजिलले टर्किमै बिहे गर्दा पनि एर्दोगनलाई बेष्ट म्यान बनाएका थिए ।
२०१८ को बिश्वकपमा समुह चरणबाट नै बाहिरिएपछि टर्किस मुलका ओजिलले आफूमाथि नश्लभेदीय टिप्पणी भएको भन्दै राष्ट्रिय टिमबाट सन्यास नै लिएका थिए । २०१९ मा चिनको जिनियाङ प्रान्तमा उइगर मुस्लिम समुदायमाथि भएको बर्बरताको बिरोधमा बोले पछि उनी हप्ताको ३ लाख ५० हजार पाउण्ड लिएर सबैभन्दा महँगो खेलाडी रहेपनि आर्सनलका लागि निकै कम खेलेका थिए ।
आर्सनल आफैले ओजिलको बक्तब्याहरुबाट आफुलाई टाढा राख्दै आएको थियो । ओजिलले फेनरबाचेका लागि आफ्नो पहिलो खेल इस्तानबुल डर्बीमा गालातासारे बिरुद्ध खेल्न सक्नेछन् ।
रियल म्याड्रिड र आर्सनलमा हुँदा लिएको पैसा भन्दा फेनरबाचेमा निकै नै कममा अनुबन्ध भएका उनले एक सिजनको ३० लाख युरो कमाउने छन् ।
नेपाली ए डिभिजन लिग क्लब त्रिभुवन आर्मी फुटबल क्लबले एएफसी कप २०२१ को प्ले अफमा श्रीलंका पुलीस विरुद्ध खेल्ने तय भएको छ ।
एसियाली फुटबल महासंघ (एएफसी) ले बुधबार सार्वजनिक गरेको खेल तालिका अनुसार दक्षिण एसियाको प्ले अफमा आर्मीले श्रीलंका पुलिस विरुद्ध खेल्नु पर्ने छ । आर्मी र श्रीलंका पुलिसबीच अप्रिल ७ मा खेल हुने छ । आर्मीले उक्त खेलमा जित हात पारेको खण्डमा प्लेअफको दोस्रो खेलमा भारतको बेंगलुरु फुटबल क्लबसँग अप्रिल १४ मा प्रतिस्पर्धा गर्नेछ ।
आर्मीले बेंगलुरु फुटबल क्लब विरुद्ध जित निकाले अप्रिल २१ मा हुने प्ले अफको फाइनल खेल खेल्नेछ । प्ले अफ जितेको खण्डमा आर्मीले एएफसी कप २०२१ को समुह डि मा स्थान पाउने छ ।
समुह डि मा भारतको एटीके मोहन बगान, बंगलादेशको बसुन्धरा किंग्स र माल्दिभ्सको माजिया एण्ड रिक्रिएसन रहेका छन् । एएफसी कप २०२१ का समुह चरणका खेलहरु मे १४ बाट सुरु हुने एसियाली फुटबल महासंघले जनाएको छ ।
प्रतियोगितामा देशको लिग बिजेताले खेल्ने भएपछि शहिद स्मारक ए डिभिजन लिग बिजेता मच्छिन्द्र क्लबको ए लाइसेन्स नभएको कारण आर्मीले उसको स्थान लिएको हो । नेपाली ए डिभिजन लिग क्लबहरुमा हाल आर्मीसँग मात्र एसियन फुटबल कन्फेडेरेसनको ए लाइसेन्स रहेको छ । आर्मी लिगको उपबिजेता पनि हो ।
डिफेन्डिङ्ग च्याम्पियन नेपाल पुलिस क्लब प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ ।
आरिफ शेख खेल्न नसक्ने परिस्थितीबाट पनि मैदान फर्कदै बहादुरीपुर्वक ब्याटिङ्गमा आएको खेलमा पुलिस सेमिफाइनलमा नेपाल एपिएफ क्लबसँग ३० रनले पराजित भयो । पहिलो ब्याटिङ्ग गरेको एपिएफले ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ३ रन बनाएको थियो । जवाफमा पुलिस ४९ दशमलव २ ओभरमा १ सय ७३ रनमै समेटियो ।
एपिएफको इनिङ्गसलाई झड्का दिने क्रममा लगातार १० ओभर बलिङ्ग गर्दै तीन विकेट लिएका आरिफ फिल्डिङ्गका क्रममा गोलीगाँठोको नराम्रो चोट लागेपछि एम्बुलेन्समै स्ट्रेचरमा राखेर हस्पिटल लगिएको थियो । उपचारपछि एम्बुलेन्समै मैदान फर्किएका आरिफ पुलिसले १ सय ५७ रनमा ८ विकेट गुमाउदा खुट्टा खोच्याउदै मैदानमा ब्याटिङ्ग गर्न आएका थिए ।
दुई चौका र एक छक्का प्रहार गर्दै १६ रनमा आउट भएका आरिफको खेललाई दर्शकका साथै एपिएफका खेलाडीले पनि सराहना गरेका थिए । टप अर्डरले खराब शुरुवात गर्दा १५ रनमै तीन विकेट गुमाएको पुलिसलाई दिपेन्द्र सिँह ऐरि र अनिल साह (२१) ले ४६ रनको साझेदारी गर्दै सम्हाल्ने प्रयास गरेका थिए ।
तर एपिएफले चाहिएको समयमा विकेटहरु लिदै खेललाई आफ्नो नियन्त्रणमा राखेको थियो । पवन शर्राफले पुलिसको लागि ६१ बलमा सर्वाधिक ४० रन बनाएका थिए भने टिमको अन्तिम आशाको रुपमा रहेका रशिद खानले ५१ ब्लमा ३४ रन बनाए । रशिदले तीन चौका र एक चौका हिर्काएका थिए । दिपेन्द्रले ६९ बलमा ३३ रन बनाए ।
एपिएफका लागि बायाँ हाते स्पिनर भुवन कार्कीले ९ दशमलव दुई ओभरमा मात्र २१ रन खर्चदै चार विकेट लिए । यस्तै कप्तान शरद भेषावकर, कमल सिँह ऐरि र अविनाश बोहोराले २–२ विकेट लिएका थिए ।
यसअघि आरिफले तीन विकेट लिएपछि पहिलो चार विकेट ४३ रनमै गुमाएको एपिएफलाई मिडल अर्डर र लोवर मिडल अर्डरले सम्हालेपछि सम्मानजनक योगफलतर्फ पुगेको थियो ।
संकटमा रहेको एपिएफलाई शंकर राना र सन्दिप जोराले ६४ रनको साझेदारी गर्दै सम्हालेका थिए । प्रतियोगितामा एपिएफ संकटमा रहदा टिमको ब्याटिङ्ग सम्हालेका जोराले ४३ बलमा तीन चौका र एक छक्काको मद्दतमा ३४ रन बनाए ।
शंकर र अमर सिँह रौटेला (४) आउट भएरपछि १ सय ४४ रनमा ७ विकेट गुमाएको एपिएफलाई भुवनले आठौं विकेटका लागि कमल सिँह ऐरि (१९) सँग ३८ रनको साझेदारी गर्दै २ सय रन नजिक पुर्याए । भुवनले ५६ बलमा दुई छक्का र एक चौकाको मद्दतमा ४२ रन बनाए ।
एपिएफका लागि शंकरले ९६ बलमा ४४ रन जोडेका थिए । उनको इनिङ्गसमा चार चौका सामेल थियो । आरिफले १० ओभरमा मात्र ३१ रन खर्चेर तीन विकेट लिएका थिए ।