स्पेनिस फुटबलको महारथी रियल म्याड्रिडका लागि १ सयौं गोल गरेपछि डिफेण्डर तथा कप्तान सर्जियो रामोस क्लबका लागि अझै नयाँ किर्तिमान बनाउन चाहन्छन् ।
रामोसले हेडरमा गोल गरेपछि मङ्गलवार च्याम्पियन्स लिग म्याचमा रियलले २–० को अग्रता बनाएको थियो भने खेलको अन्त्यमा इन्टर मिलानलाई ३–२ ले पराजित गरेको थियो । रियलको यो सिजन च्याम्पियन्स लिगमा पहिलो जित थियो ।
इन्टरबिरुद्धको गोल रामोसको रियलका लागि ५५ औं हेडर थियो भने उनले २१ पटक पेनाल्टी, दुई पटक फ्रि किक र २२ पटक ओपन प्लेमा खुट्टाबाट गोल गरेका छन् । “यो नराम्रो होइन । व्यक्तिगत किर्तिमान प्राथमिकतामा नपरेपनि तपाईलाई राम्रो लाग्छ । यी किर्तिमानहरुले टिमलाई जित्न मद्दत गर्छन् भने म अझै किर्तिमान बनाउन चाहन्छु,” रामोसले भने ।
रामोसले रियलका लागि ११ च्याम्पियन्स लिग सिजनमा १४ गोल गरेका छन् । राउल र करिम बेन्जेमाले मात्रै रामोस भन्दा बढी सिजन च्याम्पियन्स लिगमा गोल गरेका छन् । सेभियाका लागि दुई सहित उनले स्पेनिस ला लिगामा ७४ गोल गरेका छन् भने स्पेनिस कपमा सात गोल पनि ठोकेका छन् । रियलका लागि ६ सय ५९ खेलेका उनले २२ वटा उपाधि जितेका छन् ।
किर्तिमानको ओइरो
स्पेनका लागि २३ गोल गरिसकेका रामोस अन्तर्राष्ट्रिय फुटबल इतिहासमा सबैभन्दा बढी गोल गर्ने डिफेण्डर हुन् । सेभियाका लागि अन्य तीन गोल गरेका उनको करिअरमा १ सय २६ गोल भइसकेको छ ।
गत जुनमा हालका बार्सिलोना प्रशिक्षक रोनाल्ड कोमनको ६७ गोलको किर्तिमानलाई पछि पार्दै उनी ला लिगामा सर्वाधिक गोल गर्ने डिफेन्डर बनिसकेका थिए ।मङ्गलवारको खेल आफ्नो नियन्त्रणमा राखेको रियलका लागि रामोसले टोनी त्रुसको कर्नरमा हेडर गर्दै अग्रता दोब्बर बनाएपनि इन्टरले बराबरी गर्दा रोद्रिगोले बिजयी गोल गरेका थिए ।

“तपाई यसरी नै बाच्नुपर्ने हुन्छ । यो फाइनल सरह नै थियो, जीवन र मरणको खेल । जब उनीहरुले बराबरी गरे, हामीले एक स्थान माथि जानुपर्ने थियो । हामीले जुवा खेल्यौं र त्यसमा सफल पनि भयौं,” रामोस भन्छन् ।
रियलका लागि १ सय गोल गर्ने मात्र २१ औ खेलाडी बन्ने क्रममा रामोसले फर्नान्डो मोरिएन्टेसको किर्तिमान बराबरी गरेका छन् । उनी वेल्स स्टार ग्यारेथ बेल र ब्राजिल लेजेण्ड रोनाल्डोभन्दा मात्र पाँच गोलले पछि रहेका छन् ।
२०१४ मा एट्लेटिको म्याड्रिड बिरुद्ध अतिरिक्त समयको बराबरी गोल र २०१६ को च्याम्पियन्स लिगमा उही स्पेनिस प्रतिद्वन्दीबिरुद्धको गोल सहित रामोसले रियलका लागि कैयौं महत्वपूर्ण गोलहरु गरेका छन् । कट्टर प्रतिद्वन्दी बार्सिलोनाबिरुद्ध रामोसले ८२ औं मिनेटमा बिजयी गोल र ९० औं मिनेटमा बराबरी गोल पनि गरेका छन् ।
तर उनी बिश्व फुटबलमै सर्वाधिक गोल गर्ने डिफेण्डर भने होइनन् । ड्यानिएल पासारेलाले ७० देखि ८० को दशकसम्ममा अर्जेन्टिना, फियोरेन्टिना, इन्टर र आफ्नो घरेलु क्बलहरुको लागि १ सय ७५ गोल गरेको भनिएको छ । रामोसअघि अन्तर्राष्ट्रिय फुटबल इतिहासमा उनकै नाममा २२ गोलको सर्वाधिक गोल गर्ने डिफेण्डरको किर्तिमान रहेको थियो ।

बार्सिलोनाका लागि खेलेका रोनाल्ड कोमन
कोमनले डच टोली पिएसभी आइन्डहोभन, बार्सा र नेदरल्याण्ड्सका लागि झण्डै २ सय ५० गोल गरेका थिए तर उनले अधिक समय मिडफिल्डरको रुपमा खेलेका थिए ।
रामोस रियलमै पनि सर्वाधिक गोल गर्ने डिफेण्डर भनिदैनन् । फर्नाण्डो हिएरोले रियलका लागि १ सय २४ गोलसहित कुल १ सय ५४ गोल गरेका छन् तर कोमनजस्तै उनले पनि मिडफिल्डमा धेरै समय बिताएका थिए ।
रामोस सर्वकालीन महान डिफेण्डर हुन् त ?
गत हप्ता फ्रान्स फुटबलका पाठकहरुले रामोसलाई सर्वकालीन महान डिफेण्डरको रुपमा भोट गरेका थिए । बालोन डि ओर पुरस्कार आयोजनका गर्ने फ्रान्स फुटबल म्यागजिनले बालोन डि ओर ड्रिमका लागि १० जनाको डिफेण्डरहरुको सुची तयार गरेको थियो ।
इङ्गल्याण्डका बिश्वकप बिजेता बबी मुर, जर्मनी तथा बायर्न म्युनिख आइकन फ्रान्ज बेकनबाउर, कोमन, पासारेला, इटालिका फ्रांको बरेसी, फाबियो कानाभारो र गेटानो सिरेआ, पुर्व फ्रान्स र चेल्सीका मार्सेल डेजाली र जर्मन माथियस स्यामको तुलनामा रामोस कहा पर्ने गर्लान् त ?