घरेलु टोली पाकिस्तानले जिम्बाब्वे विरुद्धको तेश्रो तथा अन्तिम एकदिवसीय शृंखला आज खेल्दै छ ।पाकिस्तानले तीन खेलको शृंखलामा २-० को अग्रता लिएको छ र आजको खेलमा जित हात पारेको खण्डमा शृंखला माथि क्लिन स्विप गर्नेछ । रावलपिन्डीमा हुने खेल नेपाली समय अनुसार दिउँस १२:४५ बजे सुरु हुनेछ ।
पहिलो खेलमा पाकिस्तानले जिम्बाब्वेलाई २६ रनले पराजित गरेको थियो भने दोश्रो खेलमा छ विकेटको जित हात पारेको थियो ।
दोश्रो खेलमा जितका लागि २०७ रनको मध्यम लक्ष्य लिएर ब्याटिङमा आएको पाकिस्तानले ३५ दशमलब दुई ओभर खेल्दै चार विकेटको नोक्सानीमा जित हात पारेको हो ।
पाकिस्तानको जितमा कप्तान बाबर अजामले सर्वाधिक ७७ रन बनाए । अविजित रहेका उनले ७४ बलको सामना गर्दै सात चौका र दुई छक्का प्रहार गरे । अजाम बाहेक ओपनर इमाम-उल-हकले ४९ हैदर अली २९, अबिद अली २२ तथा मोहम्मद रिज्वान एक रनमा आउट भए भने इफ्तिखर अहमदले पनि अविजित १६ रनको पारी खेले ।
यस अघि रावलपिन्डीमा टस जितेर पहिले ब्याटिङ गरेको जिम्बाब्वेले ४५ दशमलब एक ओभरमा आफ्ना सबै विकेट गुमाएर २०६ रन मात्र बनाउन सकेको हो ।
जिम्बाब्वेलाई सानो योगफलमा समेट्ने क्रममा इफ्तिखर अहमदले सर्वाधिक पाँच विकेट लिए भने मुहम्मद मुसाले पनि आफ्नो नाममा दुई विकेट दर्ता गराए । १० ओभर बलिङ गरेका अहमदले दुई मेडन सहित ४० रन मात्र खर्चिए । अघिल्लो खेलमा पाँच विकेट हात पारेका शाहिन शाह अफ्रिदीले आज विकेट बिहिन रहन गए पनि किफायती बलिङ गर्दै १० ओभरमा ३६ रन मात्र खर्चिए ।
जिम्बाब्वेका सिन विलियम्सले सर्वाधिक ७५ रन बनाए । ७० बलको सामना गरका उनले १० चौका र एक छक्का प्रहार गरे । विलियम्स बाहेक अघिल्लो खेलमा शतक प्रहार गरेका ब्रेन्डन टेलरले ३६ तथा ओपनर ब्रायन चरीले २५ रन बनाए भने अन्य ब्याट्सम्यानले उलेख्य योगदान दिन नसक्दा जिम्बाब्वे सानो योगफलमा खुम्चिन पुगेको हो ।