इण्डियन प्रिमियर लिग अन्तर्गत आइतबार निकै रोमाञ्चक हुने अपेक्षा गरिएको खेलमा भारतीय टोलीका कप्तान रोयल च्यालेञ्जर्स बैंग्लोरले डेविड वार्नरको सनराइजर्स हैदराबादको सामना गरिरहेको छ ।
आइपिएलमा सधै प्रबल दाबेदार रहने गरेको बैग्लोरले अहिलेसम्म एक पटक पनि उपाधि जितेको छैन भने दुई पटक फाइनलमा पराजित भएको थियो । बैंग्लोरको टिम सधै झै यसपटक पनि निकै बलियो देखिन्छ, मुख्यत कोहली र दक्षिण अफ्रिकी ब्याटिङ्ग स्टार एबि डि भिलियर्सको उपस्थितिका कारण ।
यो सिजन भने बैंग्लोरका लागि फरक रहनेछ र कारण हुनु डि भिलियर्स । डि भिलियर्स आइतबार मैदान उत्रदा उनको जर्सीमा आफ्नो नाम हुने छैन । फ्रान्चाइज लिगमा डि भिलियर्सले आफ्नो जर्सीमा नाम एबिडि लेख्दै आइरहेका छन् भने राष्ट्रिय टोलीका लागि एबि डि भिलियर्स नै ।
तर यसपटक डि भिलियर्सले आफ्नो जर्सी पछाडी परितोष लेख्नेछन् ।
कारण के हो त ?
बिजय माल्याको बैंग्लोरले हरेक जसो आइपिएल सिजनमा सामाजिक उत्तरदायित्व अन्गर्त बिभिन्न अभियानहरु गर्दै आइरहेको छ । अघिल्लो सिजन पनि उसले हरियाली बचाउने नारा सहित गो ग्रिन अभियानमा साथ दिएको थियो र यसै कारण आफ्नो जर्सीको रङ्ग पनि हरियो बनाएको थियो ।

यो सिजन बैंग्लोरले कोरोना भाइसर संक्रमणबाट जुध्न फ्रन्टलाइनमा रहेर काम गर्नेहरुको समर्थनमा अभियान सञ्चालन गरिरहेको छ । बैंग्लोरका सबै खेलाडीले यो सिजन फ्रन्टलाइनमा काम गर्नेहरुको समर्पणमा आफ्नो जर्सी पछाडी कोभिड हिरोज लेख्नेछन् ।
डि भिलियर्सले भने यो बाहेक जर्सीमा परितोष लेख्ने भएका हुन् । उनले फिडिङ्ग फ्रम फार (टाढा रहेर खुवाउदै) अभियान चलाउदै गरिब तथा निमुखाहरुलाई खाना ख्वाउने काम गरिरहेका परितोष पन्तको नाममा यो पुरै सिजन आफ्नो जर्सीमा नाम परिवर्तन गर्न लागेका हुन् ।
डि भिलियर्सले ट्विटरमा आफ्नो ह्याण्डल पनि परितोष पन्त भनेर परिवर्तन गरेका छन् । आइतबार हैदराबादबिरुद्ध खेल्नु अघि बैंग्लोरले आफ्नो सामाजिक सञ्जालमा कोभिड–१९ बिरुद्ध लड्ने फ्रन्टलाइनरहरुको समर्पणमा भिडियो पनि पोष्ट गरेको थियो ।