बार्सिलोना छाड्ने हल्ला बढ्दै गए पनि स्टार खेलाडी लियोनल मेस्सीलाई लिएर एक नयाँ टोली विश्वस्तरिय टोली बनाउने योजना रहेको र उनलाई क्लबमै रहन आग्रह गर्दै आएको खेल-निर्देशक रमोन प्लेन्सले बताएका छन् ।
३३ बर्षिय अर्जेन्टाइन फरवार्डले क्लबलाई आफ्नो ‘रिलिज क्लज’ हटाउदै बिना कुनै शुल्क क्लब छोड्न मिल्ने बनाउन आग्रह गर्दै आएका छन् ।
६३४ किर्तिमानी गोलहरुसँगै मेस्सी ६ पटकका बलोन डि’ओर बिजेता हुन् ।
“जे हुनु भैसक्यो अब हाम्रो योजना भनेको संसारको उत्कृष्ट खेलाडीलाई लिएर टिम बनाउने हो,” प्लेन्सले भने ।
“हामी हाम्रो ईतिहासको भन्दा पनि उत्कृष्ट टोली बनाउने योजनामा छौँ जुन मेस्सीको नेतृत्वमा हुने छ । म आशावादी छु, मेस्सीले बार्सिलोना छोड्दैनन्। यी दुई भनेका सम्बन्ध पेरेका जोडी जस्तै हुन्, एक अर्कालाई छोड्न सक्दैनन् ।” तर यसै बर्ष च्याम्पियन्स लिगमा बायर्न म्युनिखसँगको ८-२ को हार र २००७-२००८ पछिको पहिलो उपाधि बिहिन बर्ष पछी मेस्सी बार्सिलोना छोड्न चाहन्छन् ।
मेस्सीको बार्सिलोनासँग २०२१ सम्मको सम्झौता रहेको छ। यो अवस्थामा क्लब छोड्ने हो भने उनका लागि कुनै क्लबले ७०० मिलियन युरोको रिलिज क्लज तिर्नु पर्ने हुन्छ।
“हामीलाई मेस्सीको साथै टोलीको भविष्यका लागि अन्य विश्वस्तरीय खेलाडीहरू चाहिएको छ । बार्सिलोना र मेस्सीको सम्बन्ध कायम रहनेछ। मेस्सीलाई विश्वस्त पार्न हामी आन्तरिक रुपमा काम गरिरहेका छौं,” प्लेन्स भन्छन्।
“बार्सिलोनाले विगतका वर्षहरूमा धेरै चोटि टोली पुन: निर्माण गरेको छ र हामी अहिले यही पुन: निर्माणको चरणमा छौँ।”
धेरैको बिचारमा मेस्सी क्लबमा रहनका लागि बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्तोमेउको राजीनामा र प्रारम्भिक चुनाव नै अन्तिम उपाय हो। तर क्लबसँग १० ला लिगा र चार च्याम्पियन्स लिग जितेका मेस्सीलाई राख्न त्यो पर्याप्त भने छैन।
प्लेन्स भन्छन्:” हामीले उनलाई धेरै आदर गर्नु पर्छ। हामीले सार्वजनिक रुपमा मेस्सी र क्लबबीच छलफल गर्न मिल्दैन। मेस्सी बार्सिलोनामै रहुन भन्ने सबैको कामना हो। त्यस्का लागि आन्तरिक कार्यहरू गर्नेछौं।”