शुक्रबार लिस्बनमा हुन गइरहेको च्याम्पियन्स लिग क्वार्टर फाइनल अघि लियोनल मेस्सी उत्कृष्ट की रोबर्ट लेवान्डोस्की राम्रो भन्ने बिवाद चर्किदै जादा बायर्न म्युनिख प्रशिक्षक ह्यान्सी फ्लिक भने तटस्थ बसेका छन् ।
बुधबार हुने सेमिफाइनलमा स्थान बनाउनका लागि बायर्नले बार्साको सामना गरिरहेको छ तर खेल अघि नै प्रतिस्पर्धा भने ६ पटकका बालोन डि ओर बिजेता मेस्सी उत्कृष्ट की यो सिजन ७ खेलबाट १३ गोल गर्दै सर्वाधिक गोलकर्ता रहदै आएका लेवान्डोस्की भन्ने बिषयमा भइरहेको छ ।
पुर्व बायर्न स्टार लोथार मथाउसले पोल्याण्ड स्ट्राइकर लेवान्डोस्कीले मेस्सीलाई बिश्वकै उत्कृष्ट खेलाडीको रुपमा पछि पारिसकेको बताएपछि बार्सा प्रशिक्षक किके सेटियनले बिहिबार जवाफ फर्काउने क्रममा लेवान्डोस्की मेस्सीको स्तरमा नरहेको स्पष्ट भएको बताएका थिए ।
“तपाई यी दुई खेलाडीलाई तुलना नै गर्न सक्नुहुन्न । रोबर्ट सेन्ट्रल स्ट्राइकरको रुपमा एक बिश्वस्तीय खेलाडी हुन् । बिशेषगरि पेनाल्टी एरियामा गोल गर्नुका साथै अवसर सृजना गर्न सक्ने भएकाले रोबर्टमा धेरै गुणहरु रहेको मान्न सकिन्छ,” फ्लिकले भने । “मेस्सी केही बर्षयता देखि संसारकै उत्कृष्ट खेलाडी रहदै आएका छन् । उनी जस्तो खेलाडी फेरि आउछन् भन्नेमा नै मलाई शंका छ।”
आफ्नो व्यवसायिक करिअरकै उत्कृष्ट लयमा रहेका लेवान्डोस्कीले यो सिजन ४४ खेलबाट ५३ गोल गरेका छन् भने मेस्सीको नाममा ४३ खेलबाट ३१ गोल मात्र रहेको छ । अघिल्लो सिजनहरुको तुलनामा मेस्सीसँग गोल संख्या धेरै नरहेपनि बायर्नलाई उनलाई शान्त बनाउनका लागि योजना भने आवश्यक पर्नेछ ।
“उनीबिरुद्ध कहिले पनि एक्लै डिफेण्ड गरेर सकिदैन । यसअघि बायर्नले मेस्सीबिरुद्ध खेल्दा सिँगै टिमले नै आ–आफ्नो भुमिका खेल्दा उनलाई रोक्न सकेको थियौं,” बायर्न फर्वार्ड थोमस मुलरले भने । “यदि पहिलो खेलाडीले बल खोस्न सक्दैन भने अर्को आएर प्रयास गर्नेछ ।”
फ्लिक भने शुक्रबारको खेल बायर्न र मेस्सीबिरुद्ध मात्र नरहेको बताउछन् । “उनी बिश्व स्तरीय खेलाडी त हुन् तर उनीबिरुद्ध कसरी खेल्ने हामीले सोचेका छौं । हामी एक टिमको रुपमा मैदान उत्रनेछौं । स्मार्ट हुनेछौं र मेस्सीमाथि दवाब बनाउनेछौं,” फ्लिकले भने ।