सम्झौता नविकरणको वार्ता गर्न नमानेपछि बार्सिलोना कप्तान लियोनल मेस्सीले क्लब छोड्ने संकेत गरेका छन् ।
मेस्सीको बार्सासँगको सम्झौता २०२१ मा समाप्त हुदैछ र पछिल्लो केही समय उत्पन्न क्याटलन क्लबमा उत्पन्न तनावसँगै खस्कदो प्रदर्शनले मेस्सी अब नयाँ क्लबतर्फ मोडिने सम्भावन उच्च रहदै आएको छ । स्पेनिस रेडियो काडेना सेरले एक रिपोर्टमा मेस्सीले सम्झौता नविकरण वार्ता गर्न अस्विकार गर्दै क्लब छोड्न गइरहेको उल्लेख गरेको छ ।
केहि मिडियाले जनवरीमा अर्नेस्टो भाल्भर्डेलाई बर्खास्त गर्दा मेस्सी जिम्मेवार रहेको र हाल टिम स्तरबिहिन रहेकोमा असन्तुष्ट रहेको बिषय बार्सिलोनाकै बार्डले जानकारी चुहाएको भन्दै रुष्ट रहेका छन् । मेस्सी र उनका पिता होर्गे केही समय अघि २०१७ मा गरिएको सम्झौतालाई लिएर वार्तामा रहेको तर अब भने त्यसमा अघि बढ्न नचाहेको काडेनाले उल्लेख गरेको छ ।
मेस्सीका प्रतिनीधिहरु र बार्सिलोनाले यस बिषयमा भने केही बताउन चाहिरहेका छैनन् । अघिल्लो महिना ३३ बर्षमा प्रवेश गरेका मेस्सीले क्लबका लागि ७ सयौं गोलको कोशेढुँगा छोएपनि उनको टोली एट्लेटिको म्याड्रिडसँग बराबरीमा रोकिदा ला लिगाको उपाधि रक्षा गर्ने अभियानमा नराम्रो धक्का लागिसकेको छ ।
ला लिगामा पाँच खेल मात्र बाकी रहेको स्थितिमा बार्सा पारम्परिक प्रतिद्वन्दी रियल म्याड्रिड भन्दा चार अंकले पछाडी परेको छ ।
मैदान बाहिर लजालु स्वभाव रहेको व्यक्तित्वको रुपमा हेरिने गरेका मेस्सी पछिल्लो एक बर्ष क्लब व्यवस्थापनको कडा शब्दमै आलोचना गर्न थालेका छन् । स्पोर्टिङ्ग डिरेक्ट एरिक अबिडालले भाल्भर्डेलाई बर्खास्त गर्नमा खेलाडीहरुको हात रहेको बताएको भन्दै मेस्सीले जनवरीमा आरोप लगाएका थिए ।
फेब्रुवरीमै स्पेनिस पत्रिका मुन्डो डेपोर्टिभोलाई दिइएको अन्तर्वार्तामा मेस्सीले बार्साको अहिलेको टोली च्याम्पियन्स लिग जित्ने स्तरको नरहेको पनि बताएका थिए । अप्रिलमा बार्साको सञ्चालक समुहले कोरोना भाइरसको कारण उत्पन्न आर्थिक कठिनाईसँग जुध्न क्लबका खेलाडीहरुले तलब कटौति स्विकार गर्न नमानेको भन्ने गलत प्रचार गरेको भन्दै आलोचना गर्न समेत भ्याएका थिए ।