एकदिवसीय क्रिकेटमा शतक बनाउन जति कठिन हुन्छ त्यो भन्दा बढी गाह्रो हुन्छ ९० रनको आँकडा पुगेपछि त्यसलाई पार गर्न । भनिन्छ कति पय ब्याट्स्म्यानहरुको पहिलो पटक ९० रन पुगिसकेपछि हात खुट्टा नै काम्न थाल्छ र उनीहरु नर्भस नाइन्टीज को शिकार बन्न पुग्छन्, अर्थात शतक बनाउन बाट चुक्छन् । तर एक पटक शतक बनिसकेपछि ९० लाई शतकमा बदल्न बिस्तारै बानी बस्दै जान्छ ।
आधुनिक क्रिकेटमा भारतीय ब्याटिङ्ग लिजेण्ड सचिन तेन्दुल्करले दक्षिण अफ्रिकाबिरुद्ध भएको घरेलु श्रंखलामा २ सय रन पुरा रन बनाउदै ५० ओभरको क्रिकेटमा दोहोरो शतकको ढोका खोलेपनि शतक बनाउनु सबैको लागि निकै बिशेष हुने गर्छ । सबैभन्दा बढी नर्भस नाइन्टिजको शिकार भएका पाँच ब्याट्स्म्यानहरु को–को हुन् त ?
ज्याक कालिस (दक्षिण अफ्रिका)
सम्भवत आधुनिक क्रिकेट सर्वेश्रेष्ठ अलराउण्डरमा ज्याक कालिसको नाम पहिलो स्थानमै आउने गर्छ । तिब्र गतिको बलिङ्ग गर्दै ३८ बर्षको उमेरसम्म अन्तर्राष्ट्रिय क्रिकेटमा सकृय रहेका कालिसलाई बिश्वकै उत्कृष्ट क्रिकेट खेलाडी मान्दा केही फरक नपर्ला । कालिसको दुर्भाग्य भारतका सचिन तेन्दुल्करले रनको पहाड नै खडा गरेपछि उनी त्यसकै छायाँमा पर्न पुगे ।
कालिसले टेस्टमा ४५ र एकदिवसीयमा १७ शतक प्रहार गरेका छन् । र उनी ९० रन पार गरेपछि शतक बनाउने क्रममा ८ पटक चुकेका छन् । उनले एकदिवसीय क्रिकेटमा ४४ दशमलव ३६ को औषतमा ११ हजार ५ सय ७९ रन बनाएका छन् ।
अरविन्द डि सिल्भा (श्रीलंका)
श्रीलंकालाई १९९६ को बिश्वकप जिताउदाका प्रमुख खेलाडी डि सिल्भा रहेका थिए । बिश्वकप जितेदेखि केही बर्षसम्म श्रीलंकाले अन्तर्राष्ट्रिय क्रिकेटमा राज गर्दा डि सिल्भासँगै सनथ जयसुर्या, अर्जुना रणतुँगा र रोमेश कालुविथराना टिमको ब्याटिङ्गको केन्द्रमा हुने गर्दथे । डि सिल्भाले श्रीलंकाका लागि ३ सय ८ एकदिवसीय खेल्दै ९ हजार २ सय ८४ रन बनाएका थिए । यस क्रमामा उनले ११ शतक प्रहार गरे भने ९ पटक नर्भस नाइन्टिजको शिकार भएका थिए ।
ग्रान्ट फ्लावर (जिम्बाब्वे)
जिम्बाब्वे क्रिकेटको स्वर्ण युग चलिरहदा दुई दाजु भाईले बिश्व क्रिकेटलाई नै मनोरञ्जन दिइरहेका थिए – एण्डी र ग्रान्ट फ्लावर । ग्रान्ट फ्लावर ९० को मध्य र २००० को शुरुवाती बर्षहरुमा जिम्बाब्वेको मिडल अर्डरको खम्बाको रुपमा रहेका थिए । उनले २ सय २१ एकदिवसीय अन्तर्राष्ट्रिय खेल्दै ६ शतक सहित कुल ६ हजार ५ सय ७१ रन बनाएका थिए । नर्भस नाइन्टिजको शिकार नभएको भए उनको नाममा १५ एकदिवसीय शतक हुने थियो ।
नेथन एस्टल (न्युजिल्याण्ड)
हालका मार्टिन गप्टिल, सन्यास लिइसकेका पुर्व कप्तानद्वय ब्रेण्डन म्याक्कुलम र स्टेफन फ्लेमिङ्गसँगै न्युजिल्याण्डका उत्कृष्ट ओपनरहरुमा पर्दछन नेथन एस्टल । टेस्ट क्रिकेटमा सबैभन्दा तिब्र गतिमा दोहोरो शतक पुरा गर्ने किर्तिमान अझै पनि एस्टलकै नाममा रहेको छ । उनले २००२ मा इङ्गल्याण्डबिरुद्ध भएको घरेलु श्रंखलामा १ सय ५३ बलमै दोहोरो शतक पुरा गरेका थिए ।
एस्टलले न्युजिल्याण्डका लागि २ सय १७ एकदिवसीय अन्तर्राष्ट्रिय खेल्दै १६ शतकको मद्दतमा ७ हजार ९० रन बनाएका थिए । उनी एकदिवसीयमा ९० रन कटेपछि शतक पुरा नगरि ९ पटक आउट भएका थिए ।
सचिन तेन्दुल्कर (भारत)
सचिन एक पटक पनि नर्भस नाइन्टिजको शिकार नभएको भए उनको नाममा ६७ एकदिवसीय शतकको किर्तिमान हुने थियो । शायद कुनै पनि खेलाडी सचिनको एकदिवसीय शतकको किर्तिमान नजिक पुग्ने थिएनन् । उनको किर्तिमान नजिक भारतकै वर्तमान कप्तान विराट कोहली रहेका छन् जसको नाममा ४३ एकदिवसीय शतक रहेको छ । सचिनले ४९ एकदिवसीय शतक बनाएका छन् ।
कोहलीलाई सचिनको टेस्टको ५१ शतकको किर्तिमानका लागि भने केही कसरत गर्नु पर्ने देखिन्छ । कोहलीले २७ टेस्ट शतक बनाएका छन् भने शायद अझै ५ देखि ७ बर्ष उनी भारतीय टोलीका लागि खेल्ने नै छन् । भारतका लागि ४ सय ६३ एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका सचिन १८ पटक ९० रनको आंकडामा आउट भएका थिए । उनले एकदिवसीयमा १८ हजार ४ सय २६ रन बनाएका छन् ।
लगातार २८ खेलमा अपराजित रहेको क्लब किर्तिमानको बराबरी गर्ने क्रममा म्यानचेस्टर सिटीले मङ्गलवार उल्भ्सलाई ४–१ ले पराजित गर्दै इङ्गलिस प्रिमियर लिगमा १५ अंकको अग्रता बनाएको छ ।
गत सिजनको दुवै लिग खेलमा हारको सामना गर्नु परेको टोलीबिरुद्ध पेप ग्वार्डियोलाले एतिहादमा आफ्नो टोलीमा परिवर्तन ल्याए र यो सिजन चार उपाधि जित्ने मिसनमा कायमै रहे ।
कोनोर कोडीले लियान्डर डेन्डोन्करको आत्मघाती गोलको क्षतिपुर्ति गर्दै उल्भ्सलाई खेलमा फर्काए पनि ग्याब्रियल जिजसले दुई र रियाद माह्रेजले एक गोल गरेपछि सिटीले तीन अंक सुनिश्चित गरेको थियो ।
सिटीले सबै प्रतियोगिता गरेर लगातार २८ खेल अपराजित रहने किर्तिमान डिसेम्बर २०१७ मा कायम गरेको थियो भने यो सिजन उ चार बर्षमा तेश्रो प्रिमियर लिग उपाधितर्फ अग्रसर बन्न सफल भएको छ ।
सबै प्रतियोगिता गरेर लगातार २१ खेल जितेको सिटीको प्रिमियर लिगमा भने लगातार १५ औं जित हो । सिटी पछिल्लो १९ प्रिमियर लिग खेलमा एक मिनेट पनि खेलमा पछि परेको छैन । यस क्रममा उसले आर्सनलको १९९८–९९ सिजनको किर्तिमानमा बराबरी गरेको हो ।
आफ्नो टिमलाई सशक्त प्रदर्शनको लागि सराहना गरेपनि ग्वार्डियोलोको अबको फोकस म्यानचेस्ट युनाइटेड बिरुद्धको अबको खेल रहेको बताए । लिगमा सिटीको निकटतम शहरी प्रतिद्वन्दी युनाइेटड दोश्रो स्थानमा रहेको छ ।
ग्याब्रियल जिजस फर्ममा फर्कदा पनि सिटीलाई निकै फाइदाजनक भएको छ
“म्यानचेस्टर युनाइेटड । अब हामीले सोच्ने भनेको त्यही टोली मात्रै हो । अहिले च्याम्पियन लिभरपुल हो र उनीहरुसँग यसको ताज छ । हामी लिभरपुललाई पछि पार्ने बलियो पोजिसनमा छौं । तर अझै ३३ अंकको लागि खेल्न बाकी छ । अब सबै ध्यान युनाइटेडबिरुद्धको खेलमा केन्द्रित रहनेछ,” ग्वार्डियोलाले खेलपछि भने ।
शुरुवातदेखि नै दबदबा
पहिलो मिनेटदेखि नै सिटीले खेललाई नियन्त्रणमा लिदा उल्भ्सलाई जम्न समेत समय लागेको थियो । सिटीले असिमिति दवाब बनाएको मिहिनेतले १५ औं मिनेटमा प्रतिफल पायो । माह्रेजले आफ्नै डिफेन्स लाइनबाट लिएर गएको बललाई अल्जेरियन मिडफिल्डर रोद्रिले कलेक्ट गर्दै पोस्टको मुखमा पास निकाले ।
रहिम स्टर्लिङ्गले गोलका लागि जाँदा डेनडन्करले आफ्नै पोस्टको दिशा दिन पुगे । त्यसपछि आयमेरिक लपोर्टे, बर्नार्डो सिल्भा, केभिन डि ब्रुन र माह्रेज गोल गर्ने मौकामा चुकेका थिए । सिल्भा, डि ब्रुन र माह्रेजको प्रहारलाई उल्भ्स गोलकिपर रुई पट्रिसियोले उत्कृष्ट ढँगले बचाउ गरेका थिए ।
ठ्याक्कै एक घण्टामा उल्भ्सले बराबरी गोल गर्यो । जाओ माउटिन्होको फ्रि–किकमा हेडरमार्फत गोल गरेपछि उ खेलमा फर्किएको थियो । त्यसपछि अझै दवाब बनाएको सिटीले १० मिनेटमै अग्रता फर्कायो ।
कायल वाकरले निकालेको क्रसलाई क्लियर गर्न नसक्दा जिजसले नजिकैबाट गोल गरेका थिए । ९० औं मिनेटमा माह्रेजले गोल गर्दै सिटीको जित सुनिश्चित गरे भने खेलको अन्तिम किकमा जिजसले आफ्नो दोश्रो गोल गरे ।
युरोपको पाँच शिर्ष लिगमा सिटीको यो तेश्रो उत्कृष्ट बिजयी यात्रा हो । बायर्न म्युनिखको नाममा २०२० सिजनमा लगातार २३ खेलमा जित हात पारेको किर्तिमान रहेको छ भने रियल म्याड्रिडले २०१४ मा लगातार २२ खेल जितेको थियो ।
अचम्म त के छ भने सिटीले यो सिजन निकै सुस्त शुरुवात गर्दा धेरै फुटबल पण्डितहरुले बर्षौपछि प्रिमियर लिगको उपाधि दौड खुला रहने भविष्यवाणी गरेका थिए । तर ग्वार्डियोलाको टोलीले त्यो दौडलाई सामान्य प्रकृया बनाउन थालेको जस्तो देखिएको छ ।
क्रिष्चियानो रोनाल्डोले आफ्नो करिअरको ६ सयौं लिग खेलमा गोल गरेपछि युभेन्टसले इटालियन सिरी आ मा स्पेजियामाथि ३–० को सहज जित निकालेको छ ।
पोर्चुगल, इङ्गल्याण्ड, स्पेन र अहिले इटालिमा लिग खेलिरहेका रोनाल्डोको यो सिजन सिरी आ मा २० औं गोल पनि हो । रोनाल्डोले लगातार १२ लिग सिजन २० अथवा त्यो भन्दा बढी गोल गर्दै आएका छन् ।
यो सिजन २१ खेल खेलेका रोनाल्डो लिग शिर्ष गोलकर्ताहरुको सुचीमा इन्टर मिलानका रोमेलु लुकाकुभन्दा दुई गोलले अगाडी रहेका छन् । एटलान्टाका लुईस मुरियल, लाजियोका सिरो इमोबिले र एसि मिलानका ज्लाटन इब्राहिमोभिचको समान १४ गोल छ भने अर्का इन्टर खेलाडी लौटारो मार्टिनेजको १३ गोल छ ।
मङ्गलवार सबै गोल दोश्रो हाफमा हुदा रोनाल्डो निर्धारित समय समाप्त हुन एक मिनेट बाकी रहेको अवस्थामा युभेन्टसको काउन्टर अट्याकलाई राम्रो फिनिसिङ्ग दिएका थिए । त्यसपछि स्पेजियाका आन्देू गालाबिनोभले अन्तिम समयमा पेनाल्टीमा गोल गर्ने मौका गुमाएका थिए ।
टुरिनमा फेडेरिको बर्नार्डेस्चीको असिस्टमा अल्भारो मोरोटाले गोल गर्दै युभेन्टलाई ६२ औं मिनेटमा अग्रता दिलाएका थिए । त्यसको ११ मिनेटपछि फेडेरिको चिएसाले दोश्रो गोल गरेका थिए ।
जितपछि लगातार ९ पटकको च्याम्पियन युभेन्टसले पहिलो स्थानको इन्टर मिलानसँगको दुरी ७ अंकमा छोट्याएको छ । २४ खेलको समाप्तिमा इन्टरको ५६ अंक छ भने दोश्रो स्थानको एसि मिलानको ५२ र युभेन्टसको ४९ अंक छ । एटलान्टा ४६ र एएस रोमा ४४ अंक सहित चौथो र पाचौं स्थानमा रहेका छन् ।
श्रीलंकन क्रिकेट अहिले निकै खस्कदै गइरहेको छ । इण्डियन प्रिमियर लिगमा पनि फाट्ट–फुट्ट उपस्थिति मात्रै देखिने श्रीलंकन क्रिकेटले लामो समयदेखि उत्कृष्ट खेलाडीको उत्पादन गर्न सकिरहेको छैन ।
आर्थिक रुपले कमजोर बन्दै जानुको कारण श्रीलंकन क्रिकेटमा हुदै आएको चरम राजनीति पनि हो । यसको शिकार ठूलै क्रिकेटरहरु पनि भएका छन् । ती मध्ये एक हुन् भारतीय उपमहाद्विपमा २०११ म भएको बिश्वकप फाइनलसम्म खेलेका स्पिनर सुरज रन्दिभ ।
रन्दिभ अहिले आफ्नो गुजारा चलाउन अष्ट्रेलियामा बस ड्राइभरको रुपमा कार्यरत छन् । भारतबिरुद्धको फाइनल खेलेका रन्दिभ मेलबोर्नमा रहेको फ्रेञ्च कम्पनी ट्रेन्सडेभका लागि गाडी चलाउछन् । उक्त कम्पनीले गाडी भाँडामा दिने काम गर्दै आइरहेको छ ।
रन्दिभले श्रीलंकाको लागि १२ टेस्ट, ३१ एकदिवसीय अन्तर्राष्ट्रिय र सात ट्वान्टी अन्तर्राष्ट्रिय खेल्दै सबै फरम्याटमा क्रमशः ४३, ३६ र ७ विकेट लिएका छन् । उनले २०११ र २०१३ मा महेन्द्र सिँह धोनीको चेन्नई सुपर किंग्सका लागि आईपिएल खेलेका थिए । यसका लागि उनले झण्डै ७५ लाख कमाएका थिए ।
उनलाई क्रिकेट अष्ट्रेलियाले अष्ट्रेलियन टिमलाई भारतबिरुद्धको बोर्डर–गाभस्कर टेस्ट श्रृंखलामा मद्दत गर्नका लागि पनि बोलाएको थियो । तर अस्थायी रुपमा पाएको त्यो कामपछि उनी अहिले भने गाडी चलाउदै आइरहेका छन् ।
रन्दिभले सन् २०१० मा भारती ओपनर विरेन्द्र सहवाग ९९ रनमा खेलिरहदा अन्तिम एक रन चाहिएको अवस्थामा शतकबाट बञ्चित गर्न नो–बल फालेका थिए । क्रिकेटको भावना बिपरित काम गरेको भन्दै उनी निकै आलोचित समेत भएका थिए ।
रन्दिभ मात्र नभएर उनका श्रीलंकन समकालिन चिन्ताका जयसिंघे र जिम्बाब्वेका वाडिँगटन म्वायेँगा पनि ट्रेन्सडेभका लागि गाडी चलाउदै आइरहेका छन् ।
तीनै जना क्रिकेटर भिक्टोरिया प्रिमियर क्रिकेट क्लब डान्डेनोँगका लागि खेल्दै आइरहेका छन् ।