पोखरामा जारी पोखरा प्रिमियर लिगमा अहिले सबैभन्दा बढी खुशी कोही छन् भने उनी युएईका कप्तान रोहन मुस्तफा हुन् । ब्याटिङ्ग अलराउण्डर मस्तफा अहिले राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान पारस खड्काको टोली चितवन राइनोजबाट खेलिरहेका छन् ।
दाया हाते अफ स्पिनर र बाया हाते ब्याट्स्म्यान पोखरा प्रिमियर लिग खेलिहरेको बिदेशी खेलाडीहरु मध्ये कै ठूला नाम मध्ये पर्दछन् । उनले नेपाली ट्वान्टी ट्वान्टी फ्राञ्चाइज लिगमा राम्रो अनुभव बटुलिसकेका छन् । टिम चौराहा धनगढीलाई दोश्रो संस्करणको धनगढी प्रिमियर लिग जिताउदा उनी प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भएका थिए ।
त्यसपछि उनले गत सिजन नेपालको तीन वटै लिग खेल्न भ्याए । एभरेष्ट प्रिमियर लिगमा काठमाडौं किग्स इलेभेन, पोखरा प्रिमियर लिगमा बुटवल ब्लास्टर्स र धनगढी प्रिमियर लिगमा धनगढी स्टार्सबाट । तीनवटै टोलीका कप्तान सोमपाल कामी रहेका थिए । उनी सर्वाधिक रुचाइएका बिदेशी खेलाडी मध्ये पर्दछन् ।
यो सिजन उनले पहिलो पटक सोमपालको साथ छोडे । उनी पहिलो पटक पारसको कप्तानीमा खेल्दै चितवन राइनोजको टोलीमा समावेश भए । टोली परिवर्तन गरेपनि मुस्तफाप्रति नेपाली दर्शकले देखाउने गरेको मायामा भने कुनै कमी आएको छैन ।
पोखरा प्रिमियर लिगमा पारसको टोलीको खेल हेर्न राम्र्रै संख्यामा दर्शक उपस्थित हुने गर्दछन् । पारस यसै लोकप्रिय, उनले भित्र्याएका हङ्गकङ्गका बाबर हायात, पुर्व भारतीय रणजी खेलाडी सन्नी पटेल र मुस्तफा पनि उत्तिकै लोकप्रिय ।
बाबर र सन्नीले त झन नेपाली ट्वान्टी ट्वान्टी लिगमा मुस्तफा भन्दा बढी नै अनुभव बटुलिसकेका छन् । दुवैले एक–एक पटक एभरेष्ट प्रिमियर लिगको उपाधि पनि जितेका छन् । तर लोकप्रियता कमाउने कुरामा भने मुस्तफाले पोखरामा सबै बिदेशी खेलाडीहरुलाई पछि पारेका छन् । उनी छन् नै यस्ता । दर्शकहरुले कुरा गर्दा उनी मख्ख पर्दै हास्छन् र प्रतिकृया पनि दिन्छन् ।
शुक्रबार चितवनले धनगढी ब्लुजलाई हराउदा मुस्तफा आफ्नो हाँसो रोक्न सकिरहेका थिएनन् । कारण थियो उनिसँग लँग अफमा रहेका एक हुल दर्शकले ठूलो स्वरमा हिन्दी भाषामा लगातार गरेको एकतर्फी संवाद । त्यो संवादले मैदानमा रहेको मिडिया बक्समा रहेका पत्रकारहरुलाई पनि राम्रै मनोरञ्जन दिइरहेको थियो ।
धनगढी ब्लुजले १ सय ८२ रनको बिशाल लक्ष्य पछ्याउदै गर्दा एक समय खेलको रँग उड्न थालिसकेको थियो । तर दर्शकले लगातार मुस्तफालाई ठूलो स्वरले बोलाउदै एकतर्फि वार्तालाप गर्दा सबै लामै समय हासिरहेका थिए । उनीहरु कहिले “मुस्तफा भाई, मुस्तफा भाई” भन्दै चिच्याउथे त कहिले मैदानमा सबैले सुन्ने गरि “आप फिल्डिङ पे ध्यान दो मुस्तफा भाई, आप परेशान मत होना” भन्थे ।
एक दर्शकले त झन उनीसँग निरन्तर हिन्दीमा एकतर्फी संवाद गर्दा सबैलाई राम्ररी नै हसाए । उनले चिच्याउदै भने “हमे ग्यारह मे ग्यारह मुस्तफा चाहिए” अर्थात हामीलाई ११ जना खेलाडी मुस्तफा नै चाहिन्छ । मुस्तफाले आफ्नो हासोलाई रोक्नै सकेनन् । खेलमा ध्यान दिनुपर्ने भएकाले उनी तल झुक्दै मुसुमुस हास्दै थिए ।
मुस्तफा स्ट्रेट बाउण्डरीमा खेलकै दौरान तीन चार जना मान्छेहरुसँग कुरा गर्दै थिए झण्डै ३० मिटर टाढा रहेका ती दर्शक अझै ठूलो स्वरमा चिच्याएः “उन लोगो से बाते मत कर्ना मुस्तफा भाई, ये लोकल लागो की आपको गेमसे भड्कानेकी साजीश हे । आप बस गेम मे ध्यान दो मुस्तफा भाई ।” (त्यो मान्छेहरुसँग कुरा नगर्नु, यो स्थानीय मान्छेहरु तपाइलाई खेलबाट भड्काउने कोशिश गर्दैछन् । तपाई आफ्नो खेलमा मात्र ध्यान दिनुस) ।” उनले यति भनेका मात्र के थिए उनको कुरा सुन्ने सबै मान्छेहरु गलल गर्दै हास्न थालिहाले ।
अब मुस्तफा फिल्डिङ्ग पोजिसन परिवर्तन गर्दै मिडविकेट तिर जान्छन् । ती दर्शकहरु मुस्तफालाई पछाडीबाट मात्र देख्छन् । तर संवाद अझै समाप्त हुदैन । झण्डै ५० मिटर पर रहेका मुस्तफाको जर्सी नम्बर ८८ देखेपछि अझै ठूलो स्वरमा अर्को प्रश्न सोध्छन्ः “ये एट्टीएट का मिनिङ्ग क्या हे मुस्तफा भाई । आपका म्याथ मे एट्टीएट आया था क्या ? (यो ८८ को मत्लव के हो ? तपाइको हिसाबमा ८८ नम्बर आको थियो हो?)”
मुस्तफा आफ्नो पुरानै फिल्डिङ्ग पोजिसनमा फर्किए, ती दर्शकहरुको नजिक पुगे । उनै दर्शकले फेरि चिच्याएः “मुस्तफा भाई हम लोग जा रहे हे । एक बार बाई बोल्दो ना । (हामी जादै छौं, एक पटक बाई भन्दिनु न ।)” मुस्तफा पनि के कम उनी दर्शकलाई फ्लाइङ्ग किस नै दिन्छन् । दर्शक गदगद ।
मुस्तफाले यस्तै माया यसअघिको खेलमा पनि पाएका थिए । २ सय ३ रनको बनेको बुटवलबिरुद्धको खेलमा उनले आफ्नो पुर्व टिमबिरुद्ध आकर्षक अद्र्धशतक प्रहार गर्दै दुई विकेट पनि लिदा म्यान अफ द म्याच चुनिएका थिए ।
यस बिषयमा सोध्दा उनी भन्छन् । “मलाई नेपालमा मात्र खेल्न मन लाग्छ । यहाँ दर्शकहरुले दिएको माया मलाई एकदम मन पर्छ र म राम्रो खेलेरै दर्शकहरुलाई सम्मान दिन चाहन्छु,” उनले भनेका थिए । ट्वान्टी ट्वान्टी खेल रोमाञ्चक त हुन्छ नै तर पोखरा प्रिमियर लिगको माहौल यसपटक मुस्तफाकै लागि बनेको जस्तो देखिन्छ ।
कप्तान रोहित कुमार पौडेलले शतक तथा तीब्र गतिका बलर सोमपाल कामीले पाँच विकेट हात पार्दा अमेरिका भ्रमणको दोश्रो अभ्यास खेलमा नेपाली राष्ट्रिय टोलीले ह्युस्टनहरिकेन्स माथि ३० रनको फराकिलो जित हात पारेको छ ।
खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले रोहितको शतकको मद्दतमा ४९ दशमलब एक ओभरमा आफ्ना सबै विकेट गुमाएर २५० रन बनायो भने सोमपालले पाँच विकेट निकाल्दा ह्युस्टनले ४३ दशमलब तीन ओभर खेल्दा आफ्ना सबै विकेट गुमाएर २२१ रन मात्र बनाउन सक्यो ।
कप्तान सन्दिप लामिछानेलाई विश्राम दिँदा नेपाली टोलीको कप्तानी सम्हालेका रोहितले नेपालको तर्फबाट सर्वाधिक १०१ रन बनाए । रन आउट हुनु अघि चौथो नम्बरमा ब्याटिङ गर्न आएका रोहितले ९० बल खेल्दै पाँच चौका र चार छक्काको मद्दतमा १०१ रन जोडे ।
रोहित बाहेक नेपालको लागि आरिफ शेखले ४१, दिपेन्द्र सिंह ऐरीले २४, देव खनालले १९, सुनिल धमलाले १३, करण केसीले १२ रन बनाए भने अन्य बलरहरुले दोहोरो अंकमा रन निकाल्न सकेनन् । कुशल भुर्तेल एक, बिनोद भण्डारी चार, सुशन भारी पाँच तथा सागर ढकाल दुई रन जोड्दै पेभेलियन फर्किए भने किशोर महतो आठ रनमा अविजित रहे ।
ह्युस्टनका मोहम्मद इलियासले १० ओभरमा ६४ रन दिएर सर्वाधिक पाँच विकेट लिए भने हर्मित सिंहले दुई तथा हसन रसिदले पनि आफ्नो नाममा एक विकेट दर्ता गराए ।
ह्युस्टनको लागि पाँचौं नम्बरमा ब्याटिङ गर्न आएका निनाद निम्बालकरले ८१ बल खेल्दै १२ चौका र दुई छक्का सहित आक्रामक ९९ रन बनाए पनि आफ्नो टोलीलाई जित भने दिलाउन सकेनन् । त्यस बाहेक रामिज राजाले २९, गौरव बजाजले १५, उस्मान रफिकले १२ तथा नितिश कुमारले १० रनको पारी खेले ।
निम्बालकरलाई ९९ रनमा नै रोक्दै नेपाललाई जित दिलाउन उल्लेख्य भूमिका खेलेका सोमपाल कामीले आठ दशमलब तीन ओभरमा ३८ रन दिएर सर्वाधिक पाँच विकेट हात पारे । त्यस बाहेक किशोर महतो र सागर ढकालले समान २-२ तथा करण केसीले एक विकेट हात पारे ।
कप्तान हार्दिक पान्ड्या बल र ब्याट दुवैबाट चम्किए पछि पहिलो सिजनको विजेता राजस्थान रोयल्स माथि सात विकेटको सहज जित निकाल्दै नव प्रवेशी गुजरात टाइटान्सले १५ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि चुमेको छ ।
अहमदाबादमा सम्पन्न फाइनलमा टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले नौ विकेटको नोक्सानीमा १३० रन मात्र जोड्न सक्यो भने गुजरातले तीन विकेट गुमाएर ११ बल अगावै जित दर्ता गर्यो ।
पहिलो पटकमा नै गुजरातलाई उपाधि दिलाउने क्रममा खेलको प्लेयर अफ द म्याच घोषित पान्ड्याले चार ओभरमा १७ रन खर्चिएर सर्वाधिक तीन विकेट लिए भने ३० बलमा तीन चौका र एक छक्का सहित ३४ रनको योगदान दिए ।
गुजरातको जितमा ओपनर शुबमनगिलले ४३ बलमा अविजित ४५ तथा डेविड मिलरले आक्रामक पारी खेल्दै १९ बलमा तीन चौका र एक छक्का सहित अविजित ३२ रनको पारी खेले । ओपनर रिद्दिमन साह पाँच तथा तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका म्याथ्यु वेड आठ रनमा आउट हुँदा खराब सुरुवात गरेको गुजरातको लागि पान्ड्या र गिलले ५३ बलमा ६३ तथा मिलर र गिलले २९ बलमा अविजित ४७ रन जोड्दै उपाधि दिलाए ।
यस अघि पान्ड्या बाहेक रविश्रीनिवासनसाई किशोरले दुई तथा रशिद खान, यश दयाल र मोहम्मद शामीले समान १-१ विकेट निकाल्दा राजस्थान सस्तोमै समेटिन पुग्यो ।
राजस्थानको लागि जस बटलरले सर्वाधिक ३९, यशस्वी जैसवालले २२, रियान परागले १५, कप्तान सन्जु सामसनले १४ तथा शिम्रोनहेटमायर र ट्रेन्ट बोल्टले समान ११-११ रन जोडे भने अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न नसक्दा फाइनलमा ठुलो योगफल जोड्न सकेन ।
२०१८ को च्याम्पियन्स लिगमा रियल म्याड्रिडले च्याम्पियन्स लिग जित्दा लिभरपुलको पोस्टमा एकपछि अर्को खराब प्रदर्शन गरेका लोरिस केरियस नकारात्मक चर्चामा थिए ।
स्पेनिस महारथीले एक पटक फेरि पेरिसमा प्रिमियर लिग क्लबलाई युरोपको सबैभन्दा ठूलो क्लब प्रतियोगिताको फाइनलमा पराजित गर्दा एक पटक फेरि गोलकिपरकै चर्चा चुलियो । तर यसपटक उत्कृष्ट खेल पस्केका रियलका बेल्जियन गोलकिपर थिबाउ कोर्टुवाको ।
कोर्टुवाले एक पछि अर्को गर्दै उत्कृष्ट बचाउहरु गरेपछि रियलले लिभरपुललाई १–० ले पराजित गर्दै किर्तिमानी १४ औं पटक च्याम्पियन्स लिगको उपाधि उचाल्यो ।
“जब कुनै खेलमा गोलकिपर म्यान अफ द म्याच हुन्छन् तब अर्को टोलीमा समस्य छ भनेर बुझ्दा हुन्छ,” लिभरपुल व्यवस्थापक योर्गन क्लोपले भने । स्टाड डि फ्रान्समा एक घन्टाको खेल पुरा हुनु अघि भिनिसियस जुनियरले निर्णायक गोल गरेपनि रियलको जित कोर्टुवाबिना सम्भव नै थिएन ।
खेल अवधिभर कुल नौं बचाउ गरेका कोर्टुवाको उत्कृष्ट बचाउहरुमा मोहम्मद सलाहको प्रहारलाई सशक्त ढँगले रोक्नु थियो भने शुरुवातमै सादियो मानेको सटलाई बचाउ गर्नु थियो । “सबैभन्दा निर्णायक मानेबिरुद्धको बचाउ थियो । मैले उनलाई रोक्न आफ्नो दुई मिटरको प्रयोग गर्दै केही सेकेण्डमै रिबाउन जोगाउनु पर्ने चुनौति पनि थियो,” कोर्टुवाले खेलपछि भने ।
केभिन डि ब्रुनसँगै बेल्जियन टोली गेन्कमा घरेलु उपाधि उचालेका ३० बर्षिय कोर्टुवाले आफ्नो करिअरमा ठूला उपलब्धिहरु हात पारिसकेका छन् । उनले एट्लेटिको म्याड्रिड, चेल्सी र रियलबाट स्पेन र इंगल्याण्डको घरेलु लिग जितेका छन् एट्लेटिकोबाट युरोपा लिग पनि जितिसकेका छन् ।